एक्स्पोको तयारी तिब्र , प्रवेश द्वार मायादेवी मन्दीर बन्दै

17

बुटवल, मंसिर १४– रुपन्देही व्यापार संघको आयोजनामा आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०७५ को तयारीलाई अन्तिम रुप दिने गरि आयोजनास्थल बुटवल मण्डपमा तिब्र रुपमा काम भैरहेको छ ।
एक्स्पोलाई अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भैरहेको छ । संघका अनुसार प्रदर्शनीस्थलमा शुक्रवारसम्म भौतिक संरचना निमार्णका क्रममा स्टल, सचिवालय, मञ्च तथा प्रवेशद्वारको काम भैरहेको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठले एक्स्पोको निमार्ण कार्यलाई अन्तिम रुप दिने गरि स्टल र सचिवालय तथा गेट निर्माणको काम तिब्रताका साथ भएको बताउनु भयो ।
आयोजकले एक्स्पोको मूल गेटको ढाँचा मायादेवी मन्दिरको स्वरूपमा निर्माण गर्न लागिएको र त्यसलाई मौलिकतामा ढाल्ने योजना बनाएको छ भने, सचिवालयलाई परम्परागत पहाडी घरहरुको झल्को दिनेगरि खरले छाएको घर बन्न लागेको एक्स्पो मूल आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालले बताउनु भयो । यता स्टल दर्ताको काम पनि निरन्तर जारी रहेको र हालसम्म विभिन्न प्रकृतिका करिव ३ सय स्टल दर्ता भएको र यो संख्या ६ सयभन्दा बढी पु¥याउने लक्ष्य रहेको स्टल दर्ता समितिका संयोजक यमलाल लोहनीले जानकारी दिनु भयो ।
बुटवल–१० बुटवल मण्डपमा सञ्चालन हुने एक्स्पो सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिकजस्तै बैठकहरु बस्ने र कामको समिक्षा गर्ने गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।
एक्स्पोमा उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्रसंगै सांस्कृतिक कार्यक्रम अन्तरगत लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र विद्यालयस्तरिय नृत्य प्रतियोगिता, डान्स आइडल प्रतियोगिता सञ्चालन, विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता राखिने छ ।
यसैक्रममा सांस्कृतिक कार्यक्रम अन्तरगत समावेश डान्स आइडल प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख १ हजार, दोस्रो पुरस्कार ७५ हजार तृत्य पुरस्कार ५० हजार रहेको सांस्कृतिक समितिका संयोजक ऋषि पाण्डेले बताउनु भयो । यसैगरि लोक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार राशि २० हजार, दोस्रो पुरस्कार १५ हजार, तेस्रो पुरस्कार १० हजार तथा सान्त्वना ५ हजार तथा वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार राशि १० हजार, दोस्रो पुरस्कार ७ हजार ५ सय, तेस्रो पुरस्कार ५ हजार तथा सान्त्वना २ हजार ५ सय रहेको छ ।

SHARE