श्री स्टिल्स् प्रालिको परीक्षण उत्पादन सुरु

108

भैरहवा, १२ मंसिर । रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडानम्बर ३ धकधई क्षेत्रमा स्थापित श्री स्टिल्स् प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । दैनिक उत्पादनका आधारमा नेपालकै सबैभन्दा ठुलो स्टिल्स् उद्योग समेत रहेको श्रीले बिगत ढेड महिनादेखि परीक्षण उत्पादन गरीरहेको छ ।
४ अर्ब रूपैयाँ बढीको लगानी रहेको उद्योगबाट टिएमटी छड÷रडहरूको परीक्षण उत्पादन गरिरहेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । उनले अब केही समयमै व्यवसायिक उत्पादन सुरु गर्ने बताए ।

यो उद्योगबाट आकारका आधारमा दैनिक ८ सयदेखि ९०० मेट्रिक टन छड उत्पादन हुन्छ । परिक्षण उत्पादन सफलतापूर्बक भइरहेको संचालकले बताएका छन् ।
अब केही समयमै बजारमा ‘श्री’ ब्राण्डका टिएमटि छडहरू पठाउने प्रबन्ध निर्देशक अग्रवालले बताए । उद्योगले नेपालमा अहिलेसम्म नभित्र्याएको जापानी प्रबिधिबाट छड उत्पादन सुरू गरेको छ । श्री स्टिल्स् उद्योग पूर्णरूपमा कम्प्युटरकृत छ ।
छडहरूको बन्डल बनाउने, तौल लिने सबै अटोमेटिक कम्पयुटरकृत प्लान्ट जडान गरिएको अग्रवालले बताए । छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एमएस प्राईम ब्लेड, उद्योगले सबै बिदेशबाट आयात गर्ने छ भने उद्योगबाट बार्षिक २ लाख ५० हजार टन टिएमटी छड उत्पादन गर्ने क्षमता रहेको छ ।

भैरहवा–परासी सडक खण्डमा रहेको उद्योग क्षेत्र सडक छेउमा रहे पनि उद्योग स्थलमा सामान्य अफिस दैनिक सञ्चालनका लागी आबश्यक बिद्य्त पुगेको छ ।
उद्योग नजिकै धकधईमा बिद्युत् प्राधिकरणले सब स्टेशन निर्माण गरिरहेकाले छिट्टैनै उद्योगमा बिद्युत् आउने अपेक्षा कम्पनीले गरेको छ । तत्कालका उद्योग संचालनका लागी भने ८ करोड रूपैयाँ अतिरिक्त लगानीमा ८ मेगावाट क्षमताको जेनेरेटर र फर्निस आयल (एफओ) मार्फत उर्जा ब्यबस्थापन गरी परिक्षण उत्पादन गरिरहेको छ । श्री स्टिलसहित नेपालमा स्टिल तथा छड उद्योगको संख्या २१ वटा पुगेको छ ।

भैरहवा क्षेत्रमा मात्रै ८ वटा उद्योग रहेका छन् । सबै उद्योगको गरी कुल उत्पादन क्षमता बार्षिक १० लाख मेट्रिक टन बढी छ । अहिलेसम्म सञ्चालनमा आएका उद्योगहरूको बार्षिक उत्पादन क्षमता ३० हजार देखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेकोमा श्री स्टिल्स्को बार्षिक क्षमता न्युनतम २ लाख ५० हजार मेट्रिक टन रहेको छ ।
श्री स्टिल्स् उद्योगमा सिद्धार्थ सिमेन्ट र बृज सिमेन्ट सञ्चालकहरूको संयुक्त लगानी छ । उद्योगको अध्यक्षमा जगदिश अग्रवाल र निर्देशकहरूमा मनोज केडिया र गौरब अग्रवाल छन्

SHARE