भव्य समारोहबीच जितगढी विजय उत्सव दिवस मनाइयो

84

–अब प्रदेश सरकारको पनि नजर प¥यो ः मुख्यमन्त्री
बुटवल, बैशाख ७ । नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिकाले शुक्रबार एक भव्य समारोहको आयोजना गरी दिवस मनाएको हो ।
नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले पहिलोपटक बैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवस रुपमा मनाउन थालनीसमेत गरेको छ ।
वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको दिनका रुपमा यकिन गरिएको थियो । सोही दिनको सम्झनामा उत्सव दिवस मनाउन थालिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
विजय उत्सव दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शीर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएकाले प्रदेश सरकाको नजर यसमा गएको बताउनुभयो । उहाँले सम्पदाको संरक्षण र सम्बद्र्धन गर्दै देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाइने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले उपमहानगरले सुरु गरेको यो अभियानले आफु खुशी भएको भन्दै यसमा प्रदेश सरकारको पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।

–जितगढी सम्पदाको संरक्षणमा साझा संकल्प

दिवस समारोहमा सहभागी निजी क्षेत्र, नागरिक अगुवा तथा समुदायका साथमा साझा संकल्प गराउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो–अब जितगढीको संरक्षण र सम्बद्र्धनमा आजैदेखि समर्पित हुन्छु ।’
त्यसबेलामा सहभागीहरुले हात उठाएर समर्थन जनाएका थिए । ‘मुख्यमन्त्रीले जितगढीको अतिक्रमण हटाउन, संरक्षण,सम्वद्र्धन र विकास एवं देश–विदेशमा प्रचारप्रसारमा ऐक्यवद्धताका लागि स्थानीयलाई हात उठाएर सामूहिक संकल्प गराउनुभयो यो साह्रै खुशीको कुरा हो’ स्थानीय अगुवा रविन्द्रगोपाल लाकौलले खुशी प्रकट गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को दर्घिकालीन समृद्धिको आधार पर्यटन विकास भएकाले जितगढी पहिलेदेखि नै नजरमा परेको स्मरण गराउनुभयो । जितगढीका लागि अर्को योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पुर्व–पश्चिम राजमार्गबाट ओहोर दोहोर गर्दै आहा यो के ठाउँ रहेछ भनेर देखिने बनाउनुपर्छ, यहाँका अरु अनाधिकृत संरचनाहरु हटाउनुपर्छ’ मुख्यमन्त्रीले भन्नुभयो–‘जितगढी सम्पदा हामी सबैको साझा सम्पत्ति हो, यस्को संरक्षणमा सबै केन्द्रित हुनुपर्छ ।’
समारोहमा प्रदेश सरकाका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीले अब मुहार फेर्न आफुहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि ५० लाख बजेट छट्टाएर काम थालेको बताउनुभयो । उहाँले त्यहाँका लागि उपमहानगरले बनाएको गुरुयोजनाका बारेमा पनि संक्षिप्त जानकारी गराउनुभएको थियो । उपमहानगरले जितगढी क्षेत्रमा रहेको जग्गाको संरक्षण गर्दै हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाउने निर्णय गर्दै प्रक्रियासमेत अगाडि बढेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
जितगढी क्षेत्र रहेको बुटवल वडा नंं १ र २ का घरहरुमा एउटै प्रकारको रंग लगाइने छ र उक्त वस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गरिने छ । किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरु विस्तारै हटाइने छ । अहिले वडा नंं १ को कार्यालय रहेको क्षेत्रमा जितगढी युद्ध संग्रहालय (म्युजियम) बनाइने लक्ष्य रहेको नगर उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
जितगढी किल्लामा मूल समारोह हुनु अघि बुटवल उपमहानगरपालिकाको प्रांगणबाट विभिन्न सांस्कृति प्रस्तुतिसहितको प्रभातफेरि निकालिएको थियो । विभिन्न ६० वटा संघ संस्थाहरु उक्त ¥यालीमा सहभागी रहेको ¥याली मूल्यांकन समितिका संयोजक टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । तीमध्ये उत्कृष्ट छ वटालाई नगदसहित सम्मान समेत गरिएको वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपप्रमुख गुमादेवी आचार्य र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले गर्नुभएको थियो ।

SHARE